१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

प्रविधिसँग हार्दै मानिस

मानिसले विकास गरेको प्रविधिले मानिसलाई नै जित्दै गइरहेको छ । ह्युमन टेक्नोलोजीका सहसंस्थापक ट्रिस्टन ह्यारिस भन्छन्— प्रविधिले मानिसका दुर्बल पक्षमाथि विजय पाइसकेको छ र अब सबल पक्षमा हमला गरिरहेको छ ।

दार्शनिक रूसो भन्छन्— मानिसलाई कमजोर बनाउनु छ भने उसका दुर्बल पक्ष बढाइदिनुपर्छ र सबल पक्ष घटाइदिनुपर्छ । रिस, आवेग, घमण्ड, अभिमान, लघुताभास, द्वन्द्व, आसक्ति, कुलत आदि मानिसका नकारात्मक पक्ष हुन्, जसलाई प्रविधिले क्रमशः बढाउँदै लगेको छ । प्रविधि प्रयोग जति बढेको छ, मानिस त्यति आक्रामक हुँदै छ, सामाजिक द्वन्द्व भड्किँदै छ, मानिसको घमण्ड बढ्दै छ, म निकै कमजोर पो छु कि भन्ने लघुताभास पनि गहिरिँदै छ, एकलकाँटे प्रवृत्ति झाँगिँदै छ ।

शारीरिक शक्ति, बौद्धिकता र चेतना मानिसका विशिष्ट क्षमता हुन् । प्रविधिले अब यी क्षमतामा ह्रास ल्याइरहेको छ । मेसिनले मानिसको शारीरिक शक्तिलाई जितिसकेको छ । अब बलको प्रयोग गर्न मानिस चाहिँदैन । शारीरिक बलयुक्त कामबाट विमुख हुनु भनेको दुर्बल हुनु हो । प्लेटोले भनेजस्तो स्वस्थ शरीरमा मात्रै स्वस्थ मस्तिष्क हुन्छ, जुन अब संकटमा छ । अर्कातिर, बौद्धिक क्षमतामा पनि मानिस एआई र डाटा अल्गोरिदमको लगभग तल परिसकेको छ ।

स्मरणशक्ति मानिसको भन्दा कम्प्युटरको बढी भयो । समस्याको समाधान मानिसले भन्दा छिटो र सटीक डाटा अल्गोरिदमले गर्ने भयो । कुनै घटना वा डाटाको विश्लेषण गर्न मानिसको दिमाग चाहिँदैन; विगतका सूचना र वर्तमानको ट्रेन्डका आधारमा कम्युटरले एकै छिनमा गरिदिन्छ । प्रविधिले अहिलेसम्म मानिसलाई जित्न नसकेको र जित्ने सम्भावना कम भएको क्षेत्र भनेको चेतना मात्रै हो । यही चेतनालाई थप विकास गरिएन र यससँग जोडिएका सहायक पक्षहरू कमजोर हुँदै गए भने मानिस यसमा पनि तल पर्दै जानेछ ।

प्रविधिको लत

सन् २०१०–२० बीचको विश्वको तथ्यांक हेर्दा खान नपाएरभन्दा बढी खाएर, मोटोपनका कारण मृत्यु हुनेहरू बढी थिए । युद्धभन्दा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेहरू धेरै थिए । त्यसको मूल कारण प्रविधि नै हो । प्रविधि प्रयोगसँगै मानसिक तथा सामाजिक समस्या तीव्र रूपमा बढेको छ । हाल नेपालका ९६ प्रतिशत घरमा मोबाइल फोन छ । ८७ प्रतिशत जनतामा फोनको डाटा वा ब्रोडब्यान्डमार्फत इन्टरनेट सुविधा पुगेको छ । मनमोहन मेमोरियल इन्स्टिच्युटको सर्वेक्षणअनुसार, काठमाडौंका ४६ प्रतिशत किशोरकिशोरी इन्टरनेट अम्मली भएका छन् । बेरोजगारी जति बढ्छ, प्रविधिको लत त्यति नै बढ्छ ।

नेपाल बर्डेन अफ डिजिज–२०१७ रिपोर्टअनुसार, नेपालीको औसत आयु उल्लेख्य रूपमा बढेको छ । सन् १९९० मा नेपाली पुरुष र महिलाको औसत आयु क्रमशः ५८ र ५९ वर्ष रहेकामा २०१७ मा ६९ र ७३ वर्ष पुगेको छ । औसतमा दुवैको आयु ७०.९ वर्ष पुगेको छ, तर स्वस्थ जीवनको आयु भने औसतमा ६१ वर्ष मात्रै छ । यसले वृद्धवृद्धाको जनसंख्यासँगै रोगीहरूको संख्या बढ्ने छँदै छ, प्रविधिको लतसमेत थपिएपछि मानिस अझै अस्वस्थ हुनेछ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–२०२० अनुसार, ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक असन्तुलन छ । तीमध्ये २.८ प्रतिशतमा स्ट्रेस छ । ३.९ प्रतिशतमा आत्महत्याको भावना आउने गरेको छ । त्यस्तै, १० प्रतिशत वयस्कमा मानसिक असन्तुलन देखिएको छ । ७.२ प्रतिशतमा आत्महत्याको विचार आउने गरेको देखिएको छ । प्रविधिको लतले मानसिक दुर्बलतालाई समेत बढावा दिइरहेको छ । मानिसहरू अचेल प्रायः सामाजिक सञ्जालमा टाँसिएका देखिन्छन् । एकै छिन इन्टरनेट कनेक्सन नभए छटपटिने गर्छन् । राति निद्राबाट बिउँझिएपछि पनि मोबाइल हेर्नैपर्ने, बिहान उठ्नासाथ सबैभन्दा पहिले मोबाइल नै हेर्नुपर्ने ! यसरी प्रविधिको लत लागेपछि मानिसको चेतनास्तर घट्दै जान्छ, गाँजा, चरेस वा रक्सीको अम्मलमा फस्नेहरूमा जस्तै ।

एकाग्रतामा क्षयीकरण

सामान्य मान्छे र विशिष्ट मान्छेबीचको अन्तर के हुन्छ भनी सोध्दा स्वामी विवेकानन्दको एक शब्दमा जवाफ थियो, ‘एकाग्रता ।’ मानिसको चेतनाको मूल आधार नै ध्यान हो, एकाग्रता हो । ध्यानले चेतनास्तर बढाउँछ । गौतम बुद्ध भन्छन्— दुःख ध्यानलाई नियन्त्रण गर्न नसक्नाले, बाह्य भौतिक सुखको दास हुनाले हुन्छ ।

प्रविधिले मानिसको ध्यानमा क्षयीकरण गर्दै छ । कति बज्यो भनेर हेर्न निकालेको मोबाइलमा मानिस एक घण्टा अलमलिन्छ, फेसबुकलगायतका सामाजिक सञ्जाल चलाउन थालेर । घरमा परिवारजनसँग वा कार्यालयमा ग्राहकसँग कुरा गरिरहँदासमेत आँखा र औंला मोबाइलमै हुन्छन् । यस्तो अभ्यासले कुनै विषयलाई गहिराइसम्म गएर बुझ्न दिँदैन । यसरी मानिसको ध्यान तानेर अर्थोपार्जन गर्ने ‘अटेन्सन इकोनोमी’ को प्रभाव बढिरहेको छ । विज्ञापनहरूको बाढी नै छ, जसले मानिसको ध्यान आफूतिर तान्छन्, लोभ्याउँछन् र भौंतारिने बनाउँछन् ।

ह्यारिस भन्छन्— मानिस नचाहेरै पनि आफूलाई अनावश्यक करिब ७० प्रतिशत सूचनाहरूमा भुलिरहेको हुन्छ । आफूले नखोजेका सूचना अल्गोरिदमले सिफारिस गर्छ र हामी त्यसैको पछि लाग्छौं । जस्तै— युट्युबमा एउटा भिडियो हेरिरहेका बेला अर्को भिडियो नजिक आउँछ अनि त्यही हेर्छौं, यो क्रम चलिरहन्छ । हाम्रो ध्यान यसरी ‘रिकोमेन्ड सिस्टम’ ले भड्काइरहेको हुन्छ । अरूका फोटा र भिडियोले हामीलाई तानिरहेका हुन्छन् । कसैका स्टाटस र कमेन्टले हामीलाई उत्तेजित बनाइरहेका हुन्छन् । कनेक्सनबाट छुटे पनि मन त्यतै भौंतारिइरहेको हुन्छ । हाम्रो ध्यान पनि अरूको ध्यान तान्नमा केन्द्रित हुन्छ । के गर्दा लाइक, कमेन्ट र सेयर हुन्छ भनेर छटपटाइरहेका हुन्छौं । यसरी ध्यानको क्षयीकरण भएपछि मानिसको मूलधन चेतनामा असर पर्दै जान्छ । चेतनामै खिया लागेपछि मानिस मानिस रहँदैन ।

समालोचनात्मक सोचाइमा ह्रास

समालोचनात्मक चेतना मानिसको विशिष्ट गुण हो, जुन एआई वा अन्य कम्प्युटर अल्गोरिदममा हुँदैन । कुनै पनि विषयवस्तु, घटना वा परिस्थितिलाई विभिन्न कोणबाट हेर्ने प्रक्रिया हो— समालोचनात्मक चिन्तन । यसका लागि गहिरो प्रज्ञा चाहिन्छ, धैर्य चाहिन्छ, निष्पक्षता चाहिन्छ, स्वतन्त्र चिन्तन चाहिन्छ । तर प्रविधि प्रयोगले मानिसलाई स्वतन्त्र चिन्तकबाट डाटाको सम्भाव्यताको दास बनाइरहेको छ । मानिस प्रज्ञा जाग्न नदिने सतही सूचनाको जालोबाट घेरिएको छ । समालोचनात्मक चिन्तनका लागि सत्य सूचना चाहिन्छ तर अब गलत सूचनाको चंगुलबाट मुक्ति पाउन गाह्रो हुँदै गएको छ । समालोचनात्मक चिन्तनका लागि संज्ञानको उपयोग भएको हुनुपर्छ तर मानिसको संज्ञानात्मक क्षमतालाई एआई, बिगडाटा सेन्टर र अल्गोरिदमले कमजोर बनाउँदै लगेका छन् । एकाकी सोच, ध्रुवीकरण, आवेग, तनाव, घमण्ड, प्रतिशोध आदि समालोचनात्मक चिन्तनका बाधक तत्त्व हुन् । प्रविधिले भने यिनैलाई बढावा दिएको छ । यसरी प्रविधिले मानिसका शारीरिक–मानसिक पक्षलाई जितेर, नकारात्मक पक्षलाई उकासी चेतनाको स्तरलाई दबाउँदै भुत्ते बनाउँदै लगिरहेको छ ।

(वाईपी आचार्य त्रिविका उपप्राध्यापक हुन् ।)

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?