१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

यस्तो छ फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्राम डाउन हुनुको कारण

काठमाडौं । फेसबुकले अन्ततः सोमबार राति सवा ९ बजेदेखि विश्वभर आफ्नो सेवा अवरुद्ध भएको कारण ब्लगमार्फत बाहिर ल्याएको छ । कम्पनीले आफ्नो राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको जनाएको हो ।

यद्यपि फेसबुकले दिएको जानकारी त्यति प्रस्ट त छैन, तर फेसबुकका मेसिनहरूले एक अर्कासँग कुराकानी गर्न नसकिरहेको जस्तो देखिन्छ । फेसबुकले अगाडि भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवाहरू ठप्प हुन पुगे ।’

कम्पनीका सीईओ मार्क जुकरबर्गले माफी माग्दै सोमबार राति पोस्ट गरेका थिए । जसमा उनले भनेका थिए, ‘आजको यो अवरुद्ध परिस्थितिका लागि माफी चाहन्छु । मलाई थाहा छ, तपाईं आफूले ख्याल गर्ने मानिसहरूसँग सम्पर्कमा रहन हाम्रा सेवाहरूमा कति निर्भर हुनुहुन्छ ।’

फेसबुकको सेवा सोमबार राति ९ः२५ बजेदेखि अवरुद्ध भएको थियो । जसले गर्दा कम्पनीमाथि निकै ठूलो समस्या पैदा भएको छ । यो कम्पनीका लागि सन् २०१९ देखि यताकै सबैभन्दा ठूलो अवरुद्धताको अवस्था हो । त्यतिखेर पनि २४ घन्टाभन्दा बढी समयका लागि फेसबुकको सेवा डाउन भएको थियो ।

यतिसम्म कि कर्मचारीहरूले समेत कम्पनीको म्यासेज बोर्डमार्फत एकअर्कासँग सम्पर्क गर्न सकिरहेका थिएनन् । बताइए अनुसार त्यसपछि उनीहरूले सञ्चारका लागि आउटलुक इमेल प्रयोग गरेका थिए ।

रुटिन ‘जीबीपी’ अपडेट बिग्रिएपछि फेसबुकको सिस्टममा समस्या आउन सुरु भएको थियो । त्यसपछि डीएनएस राउटिङको जानकारी नै उड्यो । अन्य नेटवर्कलाई फेसबुकका साइटहरू फेला पार्न त्यसको अनुमति आवश्यक हुने गर्दछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?