२९ असार २०८१, शुक्रबार
२९ असार २०८१, शुक्रबार

मेरो थर, मेरो जागिर

मित्तल परिवारकी छोरी हुनुमा मेरो दोष छैन । दोष र खोट त तिनीहरूको सोचमा छ जो विवाहित नारीलाई उसको श्रीमान्‌को थर र परिचयको घेराभित्र राखेर परिभाषित गर्न रुचाउँछन् ।

कसैले मलाई बुझाइदेओस्, के मेरो थर नै मेरो जिन्दगीका महत्त्वाकांक्षाहरू, मेरो सीप, मेरो उद्देश्य र स्वयं मेरो परिचायक हो ? म मित्तल परिवारकी सदस्य हुँ र आफ्नै चाहनाको पेसामा आबद्ध भएर अघि बढ्न चाहन्छु । हाम्रो समुदाय र समाज, अझ भनूँ सिंगो देशले भोगिरहेका जटिल सामाजिक चुनौतीहरूलाई दिगो समाधान दिन सक्ने कार्यक्षेत्रमा आबद्ध भएर अर्थपूर्ण पेसागत जीवन बाँच्न सकूँ भन्ने हेतुले मैले विकाससम्बद्ध क्षेत्रमा काम गर्ने निधो गरेकी हुँ ।

यो बहुआयामिक क्षेत्रले सारपूर्ण कामका साथसाथै व्यक्तिगत र पेसागत विकासको अवसर तथा आर्थिक स्थायित्व पनि देला भनेर म यस क्षेत्रप्रति आकर्षित भएकी हुँ । अफसोस, काम गर्दै जाँदा सबै कुरा सुखद नहुने रहेछन् ।

विभिन्न कार्यक्रम तथा भेटघाटमा जब म आफूलाई मित्तलका रूपमा चिनाउँछु, मानिसहरूको एउटै प्रश्न तथा प्रतिक्रिया शैलीले मेरो मथिंगल खलबल्याइदिन्छ, ‘व्यापार–व्यवसायमा लाग्नुपर्ने तिमीजस्ती मान्छे, विकासे कार्यक्रममा के गरेर बस्दै छ्यौ ?’ थरका कारण नै म सम्पन्न व्यापारिक घरानाकी हुँ र मैले जागिर खाईखाई पैसा कमाइरहनु पर्दैन भन्ने मानसिकताले उनीहरूमा घर गरेको बुझ्न गाह्रो हुन्न ।

पेसागत जीवनमा मैले पटकपटक अत्यन्त जातिवादी, लिंगभेदी र स्त्रीद्वेषी प्रश्न र प्रतिक्रियाको सामना गर्दै आइरहेकी छु । मानौं यो क्षेत्रमा आबद्ध भएर मैले ठूलै पाप गरिरहेकी छु । जबकि यिनै गैससमा काम गर्नेहरू नै आफूलाई लैंगिक–जातीय समानता, समावेशिता, मानवाधिकार, महिला सशक्तीकरण तथा उनीहरूको आर्थिक स्वतन्त्रतालगायतको सबैभन्दा ठूलो हिमायती र अभियन्ता ठान्ने गर्छन् ।

अझ स्तब्ध त म त्यतिखेर हुन्छु, जब ‘रामराज्य निर्माण गर्ने अभियान’ मा लागेका यस्ता संस्थाका नाइकेहरू नै हुने–खानेकी श्रीमती भएकीले मैले काम गर्नु नपर्नेजस्ता महान् सुझावहरू सित्तैंमा बाँडिरहेका हुन्छन् ! नेपाली नागरिकको हैसियतले मैले संविधानप्रदत्त सम्पूर्ण अधिकार प्रयोग गर्दै स्वतन्त्र महिलाका रूपमा काम गरेर खान खोज्दा उनीहरूको टाउको किन दुख्छ ? पेसागत जीवन सुरु गरेयताका आठ वर्षमा मैले यस्ता कैयौं तीता अनुभवहरू गरिसकेकी छु ।

विद्यार्थी जीवनमा हासिल गरेको ज्ञान र क्षमतालाई चटक्कै बिर्सेर, गरिआएको पेसालाई तिलाञ्जली दिएर दिनहुँजसो किट्टी पार्टीमा रमाउने कैयौं कथित घरानियाँ महिलाहरू मैले देखेकी छु । चाहेमा म पनि त्यसो गर्न सक्छु तर गर्दिनँ । मेरो रुचि त्यो होइन । दिनरात नभनी मैले पढाइ र करिअरका लागि गरेको अथक मिहिनेत अर्थिक स्वतन्त्रताका लागि हो, जसले हरेकको जीवनमा धेरै ठूलो अर्थ राख्छ । झिनामसिना खर्चका लागि पनि आफ्ना श्रीमानसामु हात फैलाउनुपर्‍यो भने मेरो शैक्षिक योग्यताको के अर्थ ?

समाजमा पुरुषहरूले आफ्नो जीवनमा जेजति उपलब्धि हासिल गर्न सक्छन्, महिलाहरू पनि त्यसका लागि उत्तिकै समर्थ छन् । तर विडम्बना, संकीर्ण सामाजिक संरचनाले त्यसो गर्ने अनुमति दिँदैन । हरेक आवश्यकता पुरुषले पूरा गरिदिने हुनाले महिलाले काम गर्नु जरुरी छैन भन्ने रूढिग्रस्त मनोदशाबाट हाम्रो समाज अझै माथि उठ्न सकेको छैन ।

तर, विवाहपछि मैले श्रीमान्सँग कहिल्यै आफ्ना लागि आर्थिक मद्दत मागेकी छैन । बरु त्यसको बदला माया मागेकी छु । म काम गर्छु, किनकि मलाई त्यसमै आनन्द लाग्छ । श्रीमान्ले मलाई गर्ने माया मेरा लागि सर्वोपरि हो । उनीसँग जोडिएर आउने धनसम्पत्ति मेरा लागि गौण हो र यो मामिलामा म आफूलाई भाग्यशाली ठान्छु । बिनाकाम दिन काटेर बस्नु मेरा लागि सबैभन्दा कठिन काम हो । दिक्कलाग्दो दिनचर्याभन्दा व्यस्त दैनिकीले दिने थकान मेरा लागि प्रिय छ । व्यक्तिगत बिमाको किस्तादेखि आफूले लगाउने जुत्तासम्मका सम्पूर्ण खर्च म आफ्नै कमाइले गर्न सक्छु । यसका लागि म श्रीमान्को मुख ताक्दिनँ । म श्रीमान्कालागि आर्थिक बोझ हुन चाहन्नँ ।

जबजब म आफ्नै खर्चले आफ्ना बच्चाहरूका लागि खेलौना, किताब तथा परिवारका सदस्यहरूलाई उपहारहरू किन्छु, स्वअस्तित्वको बोधले मलाई व्यापक सन्तुष्टि दिन्छ । म काम गर्छु ताकि मैले आफ्ना व्यक्तिगत वस्तुहरूको किनमेलमा निस्कनुअघि हजार पटक खर्चबारे सोच्नु नपरोस् । म यसकारण पनि काम गर्छु ताकि श्रीमान्सँग बेलाबखत विवाद हुँदा बारम्बार उनले मलाई घरको आर्थिक भार वहन गरेकै कारण परिवारमा उनी सबैभन्दा महत्त्वपूर्ण हुन् भन्ने कुरा याद दिलाइरहनु नपरोस् । म काम गर्छु किनकि आफ्नो परिवारको भविष्य सुरक्षित राख्न चाहन्छु । आजको कुबेर भोलि कंगाल नबन्ला भन्ने कसलाई के थाहा ? कामले मलाई स्वतन्त्रता, आत्मविश्वास, बाहिरी दुनियाँसँग अन्तरक्रिया गर्ने अवसर र खुसी दिन्छ भने म किन नगरूँ ?

हाम्रो समाजमा काम गरेबापत पाइने पारिश्रमिक वा भनूँ तलब र कामबाट प्राप्त हुने आत्मसन्तुष्टिबीचको अन्तरसम्बन्धको बुझाइ असाध्यै कमजोर छ । त्यसैले हामी आपसी सम्बन्ध, रुचिको क्षेत्रमा काम गर्ने क्षमता तथा नेतृत्वका अवसरजस्ता गैरमौद्रिक स्रोतहरूबाट कामको सन्तुष्टि खोज्ने प्रयास गर्छौं । पेसागत जीवनको गरिमालाई हामीले मिहिन रूपले विश्लेषण गर्न र बुझ्न धेरै बाँकी छ ।

कामसँगै म बचत पनि गर्छु किनकि त्यस्तै वातावरणमा हुर्किएँ । घरपरिवार सम्हाल्नु मेरा लागि ठूलो काम हो र यसमा म दिनरात खट्न सक्छु । घरको सरसफाइ, भातभान्सा, तरकारी किनमेल, बगैंचा गोडमेललगायतका यावत् काम गर्दै आइरहेकी छु । भान्साको काममा केवल दुई घण्टा बिताउनु मेरो दैनिकी हो । र अर्को सत्य यो पनि हो कि, यी सारा जिम्मेवारीबाहेक म कानुनकी विद्यार्थी र पूर्णकालीन जागिरे पनि हुँ ।

साथीभाइ, आफन्त र अझ सहकर्मीहरूले नै जागिर मेरा लागि रहर वा समयकटनीको मेलो मात्र भएको ठान्दै आइरहेका छन् । त्यसैले पनि म जागिरे जीवनमा अझ गम्भीर रहँदै आएकी छु ताकि काम मेरा लागि समय बिताउने उपाय होइन, निष्ठा, पेसा र भविष्य हो भनी उनीहरूलाई बुझाउन सकूँ ।

मैले जागिरलाई केवल निजी खर्चको स्रोतका रूपमा लिएकी छैन । यो मेरा लागि आत्मसन्तुष्टि र क्षमताको उच्चतम उपयोगको एउटा कडी हो । म काम गर्छु किनकि मसँग यसका लागि चाहिने सीप, क्षमता र प्रतिभा छ । म काम गर्छु किनकि यसो नगर्दा मैलै आफ्नो सीप र क्षमताको उपयोग गर्नबाट आफैंलाई वञ्चित गराइरहेकी छु भन्ठान्छु । म आफ्नो ज्ञान, बौद्धिकता र क्षमतालाई कुनै पनि हालतमा खेर जान दिन्नँ, त्यसैले काम गर्छु ।

मित्तल परिवारकी छोरी हुनुमा मेरो दोष छैन । दोष र खोट त तिनीहरूको सोचमा छ जो विवाहित नारीलाई उसको श्रीमान्को थर र परिचयको घेराभित्र राखेर परिभाषित गर्न रुचाउँछन् र ऊभित्रका तमाम महत्त्वाकांक्षालाई पानीका फोकासरह मान्ने संकीर्ण मानसिकताबाट ग्रस्त छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?