१ साउन २०८१, मङ्लबार
१ साउन २०८१, मङ्लबार

बीपी नै किन ?

बीपी जुन बाटो हिँडे पनि उनको गन्तव्य एउटै थियो, वैयक्तिक स्वतन्त्रतासहितको प्रजातान्त्रिक समाजवाद।


सन्दर्भ – १
नेपाली कांग्रेसका संस्थापक सदस्य विश्वेश्वरप्रसाद कोइराला नेपालीका लागि आदर्श व्यक्तित्वमध्ये एक हुन्। कोइरालाको परिचयलाई अब एउटा परिवार र एउटा राजनीतिक दलको भनेर संकुचित गर्न सकिँदैन। त्यसो गर्नु उनको योगदानलाई अवमूल्यन गर्नु हो। जन्मभूमिभन्दा हजारौं माइल परको यो भूगोलमा उभिएर नेपालका लागि योगदान दिनेमा कोइरालालाई सम्झिएका हौं।

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीमा महाकवि देवकोटाको जन्म शताब्दी मनाइरहेका थियौं। कुनै राजनीतिक छाप नलागेका डिकबहादुर तामाङले प्रश्न उठाउनु भयो ‘तपाईंहरू बीपी कोइरालालाई चैं साहित्यकार मान्नु हुन्न कि के हो ? कसैले पनि कोइरालाको नाम लिएको त सुनिँदैन।’ निश्चित राजनीतिक कित्ताको ‘ट्रेड मार्क’ र तिनैले खोपीको देउता बनाउन खोजेका यी व्यक्तित्वको सम्झना र सम्मानमा हामीले बीपी स्मृतिग्रन्थ अर्थात् विश्वेश्वरप्रसाद कोइराला: शताब्दी सन्दर्भ प्रकाशनको प्रयास गरेका थियौं।

बीपीका हकमा भने फरक राजनीतिक आस्थाको छोइ–छिटोको ‘गन्ध’ महसुस हुन्थ्यो। त्यही राजनीतिक ‘गन्ध’लाई साहित्यिक सुगन्धको मलजल हो यो। एकैसाथ यी दुवै बाटोमा हिँडेका कोइरालाको आफैंसँग भेट भएन, कस्तो अनौठो ! तर जुन बाटो हिँडेर कोइरालाले कसैसँग झगडा गरेनन् भने हामी उनी हिँडेको बाटोमा हिँड्न तँछाडमछाड वा किता काटाकाट गरिरहेका छौँ। बीपी जुन बाटो हिँडे पनि उनको गन्तव्य एउटै थियो, वैयक्तिक स्वतन्त्रतासहितको प्रजातान्त्रिक समाजवाद। समुन्नत नेपाली समाज निर्माण र समृद्ध नेपालीजनको जीवनको सुनिश्चितता उनको राजनीतिक आन्दोलनको ध्येय थियो।

सन्दर्भ– २
नेपाल बाहिर नेपालीको परिचय पुर्‍याउन सफल बनेका कोइरालाको सालिक अमेरिकाको न्युयोर्कस्थित एक कलेजमा छ भन्ने सूचना हामीले पायौं। सोधखोज हुँदा ‘पहिले थियो, अहिले छैन’ भन्ने जानकारी पाइयो। यही खोजी यात्राको दशकपछि हामीले यसलाई यो रूप दिएका हौं – विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ।

अमेरिकी भूमिमा बीपीले जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सन् १९६० मा पहिलो पटक आएका थिए। राष्ट्रसंघमा उनले गरेको सम्बोधन र त्यहाँ उनले उठाएका मुद्दाहरूले उनलाई अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा चिनायो। उनले उठाएका नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय मुद्दा र दृष्टिकोणबाट उनी विश्व समुदायमा परिचित बने। पत्रकार तरुण पौडेलले दिएको सूचना थियो– बीपी विश्व समुदायमा चिनिएका र अमेरिकामा पनि गनिएका समाजवादी नेता हुन्। न्युयोर्कतिर कुनै कलेजको परिसरमा कोइरालाको सालिक छ। यस अवधिमा हामीले बीपीको अमेरिका यात्राका सन्दर्भ खोतल्न थाल्दा सयुंक्त राष्ट्रसंघको महासभापछिका अन्य व्यक्तिगत भ्रमणका पाइलाहरू पछ्यायौँ। ती भ्रमणहरू निर्दलीय पञ्चायत व्यवस्थाका संरक्षक रहेका राजाको बन्दीका रूपमा उनको स्वास्थ्योपचारका लागि भएका थिए।

वैयक्तिक स्वतन्त्रतासहितका प्रजातन्त्रवादी नेता बीपी कोइरालाबारे अति निन्दा र प्रशंसा हुने सन्दर्भ हुन्, राजतन्त्र र राष्ट्रियताको सवाल।

कोइरालाको अमेरिका भ्रमणको दोस्रो र तेस्रो सन्दर्भका बारेमा डीसीमा बस्ने कृष्ण निरौलाले स्मृतिका पानाहरू खोलिदिनु भयो। बीपीमा देश प्रेम र देशको कानुन पालनाप्रतिको इमान्दारी भावले चार दशकपछि नेपाली समाजमा नौलो तरंग ल्याएको छ। मृत्युदण्डको जोखिम मोलेर राजाको बन्दी हुन किन नेपाल जान्छौ भनेर अमेरिकी पत्रकारहरूले सोधेको प्रश्नमा कोइरालाको जवाफले सबैलाई अवाक र नाजवाफ बनाउँछ। कोइरालाको सन्देश थियो– राजाको बन्दीका रूपमा इमान्दारी निर्वाह गर्नु, देशप्रतिको कर्तव्य पूरा गर्नु, प्रजातन्त्रका लागि लडेका र बन्दी बनाइएका

साथीहरूको जिम्मेवारीका लागि जवाफदेही हुनु एवं परिवारप्रतिको दायित्व नै हुन्। बीपीले उपचारका क्रममा अमेरिकका आउँदा यहाँका पत्रकारहरूलाई दिएको अन्तर्वार्ताको श्रव्य दृश्य सामग्री अहिलेको सूचना सञ्चार प्रविधिको सहजताका कारण पनि हुनसक्छ। यी हरफ लेख्दै गर्दा सामाजिक सञ्जाल र सञ्चार माध्यामहरूमा ‘भाइरल’ बनेको छ।

सन्दर्भ– ३
बीपीका पदचाप खोज्दै न्युयोर्क पुगेका थियौं। जहाँ थिए– नेपाली संस्कृतिलाई असाध्यै माया गर्ने प्रोफेसर टेड रिकार्डी। उनीसमेतको प्रयासमा अमेरिकी विश्वविद्यालयमा स्थापित बीपीको सालिक कसरी दुई दशकदेखि बेखबर छ भन्ने जानकारी उनीबाट पायौं। रिकार्डीको पारिवारिक नाता पहिल्याउँदै भर्जिनिया राज्यको दक्षिण ग्रामीण भेगमा पुग्यौँ। त्यो निवास रहेछ, सन् १९८० को दशकका अमेरिकाका लागि नेपाली राजदूत कार्ल कुन को। बीपीको सालिक स्थापना गरिएको कलेज बन्द भएपछि सो सालिक रिकार्डीको निवास न्युयोर्क, उनका आफन्तको वाशिङ्टन डीसीको निवास हुँदै त्यस ग्रामीण भेगको बगैंचामा पुर्‍याइएको रहेछ। श्रद्धापूर्वक राखिएको कोइरालाको त्यो सालिकले सामाजिक र सार्वजनिक महत्त्व भने नपाएको गुनासो पूर्वराजदूत परिवारबाट हामीले सुन्यौँ। उहाँहरूको धोको थियो– बीपीको त्यो सालिकलाई त्यस बगैंचाबाट निकालेर सार्वजनिक स्थानमा पुनस्र्थापना गरिदिए मन खुसी हुने।

पूर्वराजदूत कुन परिवारलाई यति आश्वासन दिएका थियौं– अहिले जहाँ जुन अवस्थामा छ, यो सम्मानजनक छ। यसलाई नेपाली समाजले उपयुक्त समयमा त्यस स्थानबाट मंगलधुनसहित अमेरिकी समाजमा सार्वजनिक गर्न प्रयास गर्नेछ। उपयुक्त स्थानमा पुनस्र्थापित गर्नेछ। तर यी हरफ लेख्दै गर्दा नरमाइलो यो सन्देश दिन बाध्य छौँ – केही वर्ष यतादेखि बीपीको त्यो सालिक फेरि बेखबर छ। नेपाली जनसम्पर्क समिति अमेरिकाको एक समूहले त्यसलाई आआफ्नो ट्रेडमार्कअनुसारको कुन खोपीमा लगेर राख्यो थाहा छैन ? तर अब कोइरालाको त्यो सालिकको स्वामित्व र संरक्षण अमेरिकी नेपाली समुदायले सम्मानपूर्वक पारदर्शीरूपमा गर्नुपर्छ।

सन्दर्भ – ४
मानिसको जीवनका विभिन्न चरणहरूको भोगाइ, बुझाइ–अनुभव र रणनीतिहरूको समग्र उद्देश्य र परिणामका आधारमा उसको मूल्यांकन गर्नुपर्ने हुन्छ। यद्यपि मानिसकै मनको मापन गर्ने कुनै वैज्ञानिक विधिको विकास भइसकेको भने छैन। यस कसीमा चर्चा गर्दा बीपी कोइरालाका पनि गुण दोष दुवैको चर्चा हुन अझै सकेको छैन। हामीले गर्दै आएको कि त अति प्रशंसा अर्थात् देवत्वकरण नै हो कि त अति निन्दा अर्थात् राक्षसीकरण। यस संकलनमा हामीले बीपीबाट सिक्नुपर्ने र सिक्न सकिने जति कुरा प्रस्तुत गर्न सक्यौं, त्यति नै कमजोर पक्ष भने पर्गेल्न सकेनौं ।

बीपीका बारेमा अति निन्दा र प्रशंसा हुने सन्दर्भहरू हुन्, राजतन्त्र र राष्ट्रियताको सवाल। कोइराला मूलत: वैयक्तिक स्वतन्त्रतासहितका प्रजातन्त्रवादी नेता हुन्। उनमा राष्ट्रवादी चेत र समर्पण नहुँदो हो त स्वनिर्वासनका दिनहरूलाई व्यक्तिगत सुखभोग गर्ने अवसरका रूपमा परिणत गर्न सक्थे। त्यसो गर्नका लागि उनले मृत्युदण्डको चुनौती स्वीकार गरेर नेपाल फर्कने थिएनन्। नेपालको राजनीतिप्रति आँखा चिम्लेर आफ्नो बिग्रँदो स्वास्थ्यको ख्याल गरेको भए उनका लागि ‘फेरि सुन्दरीजल’ जेल दोहोरिने थिएन। उनको यो चुनौती स्वीकार गर्ने साहस राष्ट्रवादी चेतकै निसर्त उदाहरण थियो। अनुमान गर्न सकिन्छ– स्वनिर्वासन त्यागेर प्रजातन्त्रका लागि मृत्युदण्डको चुनौती नस्वीकारेको भए बीपी स्वदेश विदेश कतै भेटिने, देखिने र सुनिने थिएनन्।

राष्ट्रिय मेलमिलापको उनको यो अर्थात् स्वनिर्वासन पछिको स्वदेश आगमनको अडान उनका समर्थक र शुभेच्छुकहरूकै लागि रुचिकर थिएन। त्यसमा पनि राजाको गर्धन र आफ्नो गर्धन गाँसिएको उनको कथनले उनलाई विवादमा मात्र ल्याएन, बदनाम गर्ने मसलाको काम पनि गर्यो। साहित्यकार तथा वरिष्ठ भाषासेवी प्रोफेसर तारानाथ शर्मा यहाँ उद्धरणयोग्य अग्रज हुनुहुन्छ– सर्पको पुच्छर बनेर बेलायतमा रमाउनुभन्दा भालेकै पुच्छर बनेर स्वदेशको अर्थात् मातृभूमिको सेवा गर्नु बेस हुन्छ। बीपीले सामना गरेको त्यो चुनौती यसैको उदाहरण हो।

सन्दर्भ – ५
कोइराला राजावादी थिए तर राजावादीमात्र थिएनन्। प्रजातन्त्रको घाँटी रेट्दा राजा स्वयंको घाँटी रेट्ने चुनौती दिएका थिए। उनले भनेका थिए, ‘राजा र मेरो घाँटी जोडिएको छ।’ तर राजा वीरेन्द्रले यो सन्देश समयमै नबुझेका कारण बीपीको भाग्यमा सुन्दरीजल जेलको ढोका दोस्रो पटक खुल्यो। राजतन्त्रको भविष्यमा पनि कोइरालाको घाँटीको क्यान्सर सर्न थाल्यो। कोइरालाको घाँटीको क्यान्सरले उनलाई लगेको केही वर्षपछि राजतन्त्रमा सरेको ‘क्यान्सर’को असर पनि देखापर्‍यो। कोइराला प्रजातन्त्रसहितको राजतन्त्रको पक्षमा नै थिए।

उनको नेतृत्वमा गठन भएको सरकारले लिएका आर्थिक सामाजिक कार्यक्रम, कृषि, औद्योगिक नीति तथा सामाजिक सम्बन्धहरूमा उनका स्पष्ट दृष्टिकोण उदाहरणीय छन्। नेपाल चीन सम्बन्धमा उनले अपनाएको कूटनीतिक कुशलताको परिणाम आज हाम्रा सामु विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिचान प्राप्त भएको छ। सिमानाका सानातिना विवादमा वर्षौंसम्मका हाम्रा अलमलहरूमा विश्वकै सर्वोच्च शिखरको स्वामित्व एकाध कूटनीतिक वार्तामा प्राप्त हुनुमा बीपीको भूमिका नेपालका लागि गौरव हो। अन्तर्राष्ट्रिय नीति–सम्बन्धमा पनि सोसलिस्ट इन्टरनेसनल संस्थासँगको उनको आबद्धता, भूमिका र नेतृत्व उनी अघि र अहिलेसम्मका लागि निक्कै फराकिलो बाटो थियो। उनको बाटोमा अझै उनका उत्तराधिकारीहरूको रुचि र भूमिका नगण्य नै छ। यो पनि उनको उचाइको मापन नै हो।

राष्ट्रसंघको महासभामा उनले व्यक्त गरेका विचारहरूले उनलाई विश्वमा साना राष्ट्रहरूको नजिक पुर्‍यायो। ठूला राष्ट्रहरूलाई पनि साना राष्ट्रको ठूलो नेताको परिचय पनि दिलायो। उनको पहिचान अमेरिका हुँदै एसिया नाघेर युरोप पुग्यो। विश्वका ठूला राष्ट्रहरूको ढुलमुले नीति र अस्पष्ट व्यवहारलाई चिर्न सफल भयो। उनले पाकिस्तान, इजरायलजस्ता साना देशका बारेमा प्रकट गरेका विचारले उनलाई जाति–समुदायको संकीर्णताबाट माथि उठायो।

सन्दर्भ – ६
यो प्रयत्न हामीले कोइरालाको जन्मशताब्दीकै साइत छोपेर सुरु गरेका थियौँ। तर शताब्दीपछिको दशकमा आइपुग्दा लेखिँदै गरेका यी हरफहरूमा यसबीचका सबै गतिविधि, तीता मीठा अनुभूतिहरू अटाउन मुस्किल छ। यसो त यो प्रसवको सुखद पीडा पनि हुन सक्छ, परिणाम हेरेर हामी यसै दंग र त्यत्तिकै खुसी पनि छौं। हामी हिँड्ने बाटाका देउरालीमा हामीले हाम्रा अग्रजहरूको सम्झना र सम्मानमा श्रद्धाले चढाएको फूलपाती हो यो।

राजनीतिक इतिहास अभिलेखको यस शृंखलामा हामीले लिनुपर्ने अरू पनि धेरै स्वनामधन्य अग्रजहरू हुनुहुन्छ– निर्दलीय पञ्चायत व्यवस्थामा होस् वा दलीय प्रजातान्त्रिक व्यवस्थाका पक्षमा, उहाँहरूले बोल्नुभएको दियोको उज्यालोमा नेपाली समाज लाभान्वित भएको छ। शेख इद्रिस, परशुनारायण चौधरी, गजेन्द्रनारायण सिंह, काशीप्रसाद श्रीवास्तवलगायतको अलिखित इतिहास खोतल्न सके नेपाली समाजका गोरेटाहरू देखिनेछन्। बखानसिंह गुरुङ, सर्वधन राई, नारदमुनि थुलुङ, भीमबहादुर तामाङ, महावीरशमशेर जबरा, सुवर्णशमशेर जबरा, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, सीके प्रसाईं, श्रीभद्र शर्मा, विश्वबन्धु थापा, द्वारिकादेवी ठकुरानी, सहाना प्रधान, रामनारायण मिश्र यस्ता प्रतिनिधिहरू हुन्। जो आजीवन समुन्नत नेपाली समाजको निर्माणमा समर्पित हुनुहुन्थ्यो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?