मनोरोगबाट कोही पनि अछुतो हुन सक्दैन। सामाजिक जीवन, परिवेश र वातावरणसँग तादात्म्यता छ। आफूलाई आफ्नो क्षमताको बारेमा ज्ञान छ। समाजलाई क्षमताअनुसार योगदान गर्न सक्ने अवस्था छ भने त्यस्तो अवस्थालाई मानसिकरूपमा स्वस्थ अवस्थाको रूपमा लिइन्छ। दैनिक जीवन सहजरूपमा बितिरहेको छैन। सकारात्मक सोच पनि छैन। मन, सोच, विचार र व्यवहारमा परिवर्तन भई व्यक्तिलाई असहज भइरहेको छ भने मानसिक समस्या सुरुआत भएको हुन सक्छ। मानसिक समस्याको विक्षिप्त अवस्थामा पुग्ने अवस्था सिर्जना हुन नदिन र जनचेतना फैलाउन हरेक वर्ष सेप्टेम्बर १० देखि अक्टुबर १० सम्म मानसिक स्वास्थ्य महिनाका रूपमा मनाउने गरिन्छ।
विश्व आत्महत्या दिवस सेप्टेम्बर १० मा पर्छ। त्यही दिनदेखि एक महिनासम्मको अवधिलाई मानसिक स्वास्थ्य अभियानका रूपमा लिने गरिन्छ। अक्टुबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस पर्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को यस वर्षको नारा ‘मेन्टल हेल्थ केयर फर अल, लेट्स मेक इट अ रियालिटी’ भन्ने छ। वल्र्ड फेडरेसन फर मेन्टल हेल्थको नारा ‘मेन्टल हेल्थ इन एन अनइक्वेल वल्र्ड’ भन्ने छ। विश्वमा अहिले पनि ८५ प्रतिशत व्यक्तिहरू मानसिक स्वास्थ्य सेवाबाट वञ्चित छन्। विकासोन्मुख मुलुकमा भन्दा तुलनात्मक रूपमा विकसित मुलुकमा मानसिक समस्या भएका बिरामीको उपचार सेवामा अलि धेरै पहुँच छ। तर, विकासोन्मुख मुलुकमा मानसिक स्वास्थ्यको पहुँच फितलो छ। विश्वका विभिन्न मुलुकमा मानसिक समस्यामा परेका बिरामीको आँकडा यकिन छैन। समग्रमा हेर्दा २० देखि २५ प्रतिशत व्यक्तिलाई उपचार गर्नु पर्ने खालका मनोरोगका लक्षणहरू देखिन्छन्। विश्वकै एक प्रतिशत व्यक्तिलाई त कडा खालको मनोरोग (सिजोफ्रेनिया) छ।
नेपालको सन्दर्भमा गत वर्ष एउटा सर्भे गरिएको थियो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्भेमा यसले पनि १५ देखि २० प्रतिशतको हाराहारीमा मनोरोगको लक्षण देखिएको तथ्य सार्वजनिक गरेको थियो। यसले नेपालमा पनि मानसिक समस्या प्रचुर मात्रा छ भन्ने देखाएको छ। मनोरोगले कुनै क्षेत्र, वर्ग, समुदाय, लिंग भन्दैन। मनोरोगबाट अछुतो कोही हुन सक्दैन। अस्थिर राजनीति, गिर्दो आर्थिक अवस्था एवं खण्डित सामाजिक परिवेश एवं प्राकृतिक विपत्तिले पनि मनोरोगको समस्या बढाउँछ। भूकम्पको प्रभावबाट उम्किन नपाउँदै कोरोना भाइरस संक्रमणको महामारीले सामाजिक सम्बन्धमा खलल ल्यायो। बेरोजगार बनायो। घरमै बस्ने मद्यपान एवं लागूपदार्थ सेवन गर्ने समस्या पनि बढ्यो। यसले पनि मनोरोगीको संख्या बढेको पाइएको छ। कोरोना संक्रमणको महामारीको बेला सरकारले नै सबै अस्पतालको बहिंरग विभागबाट हुने ओपीडी सेवा बन्द भयो। मानसिक अस्पताल लगनखेलमा बहिरंग सेवा बन्द गर्ने अवस्था भएन। निषेधाज्ञाका कारण बिरामी पनि बिरामी अस्पतालसम्म आउन नसक्ने अवस्था रहँदा पनि गत वर्ष अस्पतालबाट ३५ हजारभन्दा बढी व्यक्तिले सेवा लिए।
मनोरोगबाट अछुतो कोही हुन सक्दैन। अस्थिर राजनीति, गिर्दो आर्थिक अवस्था एवं खण्डित सामाजिक परिवेश एवं प्राकृतिक विपत्तिाले पनि मनोरोगको समस्या बढाउँछ।
बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबैमा मानसिक समस्या हुन्छ। वयस्क, ज्येष्ठ नागरिकमा झैं बालबालिका पनि तनाव एवं चिन्तामा रहन्छन्। यद्यपि किशोरावस्थादेखि बढी मात्रामा मानसिक समस्याहरू देखा पर्छन्। दीर्घकालसम्म पनि रहिरहन सक्ने खालको मानसिक समस्या उत्पन्न हुने किशोरावस्थादेखि हो। किशोरावस्थादेखि युवावस्थासम्म लागू पदार्थको समस्या, व्यक्तित्वको समस्या बढी देखिन्छ। गाउँघरमा छोपुवा वा छारे रोगका रूपमा लिइने कन्भर्सन डिसअर्डर पनि एक खालको मानसिक समस्या हो। विद्यार्थीहरू बेहोस भएको र विद्यालयसमेत बन्द भएका घटनाहरू यदाकदा सुन्ने गरिएको छ। यी सबै समस्या एक खालको मनोरोग हो। यसलाई मास हिस्टेरिया पनि भनिन्छ। समयमै उपचार नगर्ने हो भने जीवनभर दुःख पाइने हुन्छ।
ज्येष्ठ नागरिकमा पनि डिप्रेसन, डिमेन्सियालगायतका मनोरोगहरू हुन्छ। प्रसूतिको अवस्थामा महिलामा मानसिक समस्या देखिन सक्छ। सुत्केरी हुने सेरोफेरोमा मानसिक समस्या देखिन सक्ने भएकाले परिवारका सदस्यले विशेष हेरचाह गर्नुपर्छ। कोभिड १९ को संक्रमणले मानसिक स्वास्थ्य क्षेत्रमा पहुँच अझ जरुरी भएको देखाएको छ। शारीरिक समस्या झैं मनोरोग उत्पन्न हुनुको पनि विभिन्न कारण छन्। अन्य रोगको जस्तै यस रोग उत्पन्न हुनुको कारण पनि छ। मानसिक समस्याको उपचार पनि छ। मनोरोग उत्पन्न हुनुमा धेरै पक्षले भूमिका खेलेको हुन्छ। जैविक, सामाजिक मनोवैज्ञानिक पक्षहरू मुख्य पाइएको छ।
जैविक पक्षमा वंशाणुगत कुराहरू पर्छन्। बुवाआमामा केही समस्या छ भने सन्तानमा देखिने सम्भावना बढी हुन्छ। बुवा आमा दुवैमा कुनै समस्या छ भने सन्तानमा देखिने सम्भावना झन् बढी हुन्छ। वंशाणुगत रूपमा पनि मनोरोगको समस्या देखा पर्ने पनि हुन सक्छ। तर, यसो भन्दैमा सबै मनोरोग सर्छन् भन्ने होइन। तनाव सहन गर्ने र व्यवस्थापन गर्ने क्षमताले पनि जीवनमा प्रभाव पारिरहेको हुन्छ। व्यक्तिले आफू र अरू व्यक्ति एवं समाजलाई हेर्ने दृष्टिकोण पनि व्यक्तित्वसँग सम्बन्धित छन्। व्यक्तित्वले पनि प्रभाव पार्छ।
कस्तो खालको समाज छ ? सामाजिक वनावट कस्तो छ ? त्यसले पनि प्रभाव पारिरहेको छ। मानसिक समस्या गाउँ र सहर जताततै पाइएको छ। सहरमा लागू पदार्थको दुव्र्यसन बढी छ। दुव्र्यसनका कारण देखिन मानसिक समस्या बढी छ। सम्बन्धविच्छेदका घटनाले तनाव बढाउने र मनोरोगी पनि बनाएको होला। गाउँमा पनि मनोरोग पसेको छ। जानकारी वा उपचारमा नआउने गरेको छ। विक्षिप्तताको अवस्थामा पुगेपछि मात्र उपचार गर्न सुरु गर्ने गरेको पाइन्छ। अहिले पनि समाजमा मानसिक समस्याप्रतिको बुझाइ गलत छ। मानसिक रोग भन्नेबित्तिकै पागलपनका रूपमा बुझ्ने गरेको पाइन्छ। अशिक्षा र चेतनाको कमीले गर्दा नै समाज वा व्यक्तिको बुझाइमा गलत भएको हो। डिप्रेसन, एन्जाईटी, निद्रा नपर्ने समस्या हुन्। तर, विक्षिप्त पार्ने खालको बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया, साइकोसिस समूहका हुन्छ।
२१ औं शताब्दीलाई सूचना प्रविधिको युग भनिएको छ। यसले पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ। प्रविधिसँगै राम्रो र नराम्रो कुराहरू पनि सार्वजनिक भइरहेको छ। प्रविधिको सदुपयोग गर्दा त फाइदा नै हुन्छ। तर, सामाजिक सञ्जालको प्रभावले पनि धेरै मनोरोगहरू देखिएको छ। वातावरणसँगै सामाजिक परिवेशको पनि ठूलो भूमिका हुन्छ। इच्छा, आंकाक्षा र तनावका कुराहरू पनि छन्। यी कुराहरू आकांक्षा र प्राप्तिबीच भेट भएको छैन। पारिवारिक विखण्डन पनि बढ्दो छ।समाज आधुनिकतातर्फ प्रवेश गरिरहँदा मद्यपान, धूमपान, मनोद्विपक औषधिको सेवनले पनि व्यक्तिलाई मनोरोगी बनाउँछ। व्यक्तिको जैविक संरचना, सामाजिक परिवेश, यो सबैको ठूलो भूमिका हुन्छ मनोरोग उत्पन्न हुनुमा।
शिक्षाले पनि मनोरोगको व्यवस्थापनमा सहयोग पुर्याउँछ। भ्रम के छ भने धेरै पढ्ने व्यक्तिलाई पनि मनोरोगीको रूपमा लिने गलत सोच छ। आत्महत्याको घटनालाई पनि मानसिक समस्याको रूपमा लिइन्छ। आफूले आफैंलाई समाप्त गर्ने कुरा मानसिक समस्या हो। केही केहीले मात्र आवेगमा आएर आत्महत्या गरेको पाइन्छ। यद्यपि, ८५ प्रतिशतभन्दा बढी आत्महत्याका घटनामा मानसिक समस्या जोडिएको पाइन्छ। लागू पदार्थको दुव्र्यसनीमा पनि आत्महत्याको सम्भावना बढी हुन्छ। समयमै मनोपरामर्श गर्ने वा मनोचिकित्सक समक्ष उपचार गर्न लैजाने हो भने जीवन जोगाउन सकिन्छ। आत्महत्या रोक्न सकिन्छ।
मनोरोग हुनै नदिनु नै सबैभन्दा उत्तम उपाय हो। यसका लागि सबैभन्दा पहिले जनचेतना जगाउनु पर्छ। रोकथाममा जोड दिनुपर्छ। जीवनमा नकारात्मक र सकारात्मक दुवै पाटा हुन्छन्। सकारात्मकतातर्फ डोर्याउनु पर्छ। मानसिक समस्या भएको पनि कतिपयलाई थाहा हुँदैन। आफूलाई ठीक महसुस गरिरहेको हुन सक्छ। घर परिवारका सदस्यले निगरानी गर्नुपर्ने हुन्छ।समाजमा गलत धारणा छ। औषधि सेवन गर्दा मात्र ठीक हुन्छ। औषधिले निको हुँदैन। जीवनभर औषधि सेवन गरिरहनुपर्छ आदि गलत धारणा छन्।
सरकारले पनि मानसिक स्वास्थ्यलाई ध्यान दिन थालेको छ। सरकारले पहिलो पटक मानसिक स्वास्थ्य नीति, २०५३ बनाएको थियो। त्यसमा पनि स्वास्थ्यमा सहज पहुँच, दक्ष जनशक्ति, मनोरोगिको अधिकारलगायतका पक्षहरू समेटिएको थियो। वार्षिक बजेटमा पनि प्रदेश तहका अस्पतालमा पनि मानसिक स्वास्थ्य युनिट खडा गर्ने कार्यक्रम अघि सारिएको छ। जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार, मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ। त्यस्तै जनस्वास्थ्य नियमावलीले पनि मानसिक स्वास्थ्य समस्यालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरेको छ। सरकारले अहिले ११ किसिमका मानसिक समस्यासँग सम्बन्धित औषधि पनि निःशुल्करूपमा वितरण गरिरहेको छ।
सरकारले स्वास्थ्य संस्थामा मनोचिकित्सक एवं स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गर्नु जरुरी छ। दूरदराजमा पनि सेवाको पहुँच पुर्याउनु पर्छ। सबै जिल्लामा मनोपरामर्शदाताहरूलाई सेवामा परिचालन गर्न सकिन्छ। मानसिक रोगको उपचार तीन किसिमले गरिन्छ। सामान्य अवस्थामा मनोपरामर्शले पनि धेरै सहयोग पुग्छ। औषधि उपचार पनि प्रभावकारी छ। अधिकांश मनोरोग सही समयमा उचित डोजमा औषधि सेवन गर्ने हो भने समस्या नियन्त्रणमा ल्याउन सकिन्छ। लुकाउनु पर्ने छिपाउनु हुँदैन। उपचार गर्न खुलेर आउनु पर्छ। अधिकांश मनोरोगको उपचार पछि निको हुन्छ।
लेखक मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट हुन्।